काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव पेश नभएको बताएका छन्।
भदौ १६ देखि १९ सम्म तय भएको १४औं महाधिवेशनका लागि परिमार्जित नयाँ कार्यतालिका प्रस्तुत हुने भनिएपनि आजको बैठकमा पेश नभएको हो।
‘केन्द्रीय समितिका सदस्यहरु छलफल पछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्नेछौं,’ प्रवक्ता शर्माले भने। केन्द्रीय समितिमा आएका रायका आधारमा नयाँ कार्यतालिका आउने उनले बताए।
पार्टीभित्र भदौ २३ अघि महाधिवेशन सम्पन्न हुनुपर्ने तर्क आएका छन्। कतिपयले त्यस समयमा महाधिवेशन हुन नसक्ने दाबी गरेका छन्। प्रवक्ता शर्माले भने,‘त्यही समय ९ भदौ १६ देखि १९० भित्र गर्न सकिन्छ भन्ने धारणा पार्टीमा आएका छन्। कोरोनाको साथै हतारमा गर्दा त्यसले जटिलता उत्पन्न हुने कुराहरु पनि छन्।’
बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन,महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका छन्।
सत्तारुढ दल बनेपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक आज बोलाइएको हो। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।