काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगन थापाले निवर्तमान प्रधानमन्त्री केपी ओली र अन्य विपक्षी सांसद्हरुले सरकारप्रति गरेको प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रश्नहरुमा ध्यान दिन सरकारलाई आग्रह गरे।
'(ओलीको) प्रश्नमा थुप्रै आत्मश्लाघा थियो। अहंकार थियो। क्रोध थियो। इर्ष्या थियो। रिस थियो। कुण्ठा थियो। तर पनि सरकारलाई भन्न चाहन्छु, विपक्षले गरेको प्रश्न निम्छरो हुँदैन। प्रश्न प्रश्नै हो। प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ। एउटा एउटा प्रश्नको उत्तर नयाँ सरकारले दिनुपर्छ। तर गफबाट होइन। कुराबाट होइन। कामबाट दिनुपर्छ', उनले भने।
थापाले शून्य समय र विशेष समयमा उठेका विषयहरु गम्भीर भएको बताए। 'प्रत्येक कुरालाई हाम्रो सरकारले सुन्नुपर्छ। गम्भीरतापूर्वक लिनुपर्छ। उहाँ उठेका एउटाएउटा विषयलाई सरकारले संकल्प गर्नुपर्छ। प्रत्येक दिन म यहाँ उठेको एउटा विषयको म हल गर्छु। समस्याको समाधान गर्छु', उनले भने।
उनले ओलीलाई प्रमुख प्रतिपक्ष दलको ठाउँ सुहाएको बताए। 'वर्तमान प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको ठाउँ सुहाएको छ, त्यसैले भोट दिएको हो। तर हामीले दाबी गरेर पुग्दैन। जनताले पत्याउनुपर्छ। गफले पत्याउँदैनन्। कामले पत्याउनुपर्छ। द्रुत गतिका साथ काम गरेर त्यो ठाउँ सुहाउँछ भन्ने कुरा प्रमाणित गर्ने बेला आएको छ', उनले भने।
साउन २६ गते प्रतिनिधि सभामा सम्बोधन गर्दै घाइते योद्धाहरुलाई सरकारले उपचार गर्न नसक्ने भए आफ्नो पार्टी कार्यालय पठाइदिन गरेको चुनौतीलाई पनि थापाले प्रतिवाद गरे। 'कठैबरा! आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान्?', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।