काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विद्युतको बढी प्रयोग गर्न नागरिकलाई प्रेरित गर्न सरकारसँग आग्रह गरेका छन्।
सरकारले २० यूनिट भन्दा कम बिजुली खपत गर्ने नागरिकलाई पूर्ण छुट दिनुले जनतामा केही राहत मिलेको उल्लेख गर्दै उनले भने,‘उर्जा खपतमा नागरिकलाई प्रोत्साहन गर्दै सहुलियत दिएर बढी भन्दा बढी विद्युतको प्रयोग गर्न प्रेरित गर्नुपर्दछ।’
बढी भन्दा बढी विद्युतको प्रयोगले जलवायु परिवर्तन, डिजेल, पेट्रोल र ग्यास जन्य पदार्थको चरम दोहन, हरितगृह प्रभाव जस्ता प्रकृतिमा परेको असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ।
विद्युतको सञ्चार प्रवाहमा बारम्बार आउने समस्या हटाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।ट्रान्समिटर जल्ने र हप्तौं सम्म बिजुली अवरुद्ध हुने समस्याको ख्याल गर्न उनले सुझाएका छन्। सरकारको ध्यान सहज, सरल र निरन्तर विद्युत् आपूर्ति गर्ने तर्फ हुनुपर्नेमा उनले जोड दिए।
अझै पनि ग्रामीण कतिपय स्थानमा विद्युत पुग्न नसकेको उल्लेख गर्दै उनले भने, ‘अधिकांश ग्रामिण क्षेत्रमा विद्युत आपूर्ति सहज हुन सकेको छैन अर्को तिर ऊर्जाको खपत धेरै गराउन थप सुबिधा र सहजता हुन आवश्यक छ।’ विद्युतको उत्पादन र उपभोगमा जोड दिँदै वैकल्पिक उर्जा विकास गर्नमा सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।