काठमाडौं- निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अर्थमन्त्री जनार्दन शर्माले साउन २६ गते प्रतिनिधि सभामा प्रस्ततु गरेको देशको आर्थिक अवस्थाबारेको प्रस्तुतिलाई आरोपपत्र भएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आफ्नो र नेकपा (एमाले)को तर्फबाट पौडेलले दृष्टिकोण राखेका हुन्। 'देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी भनेर अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको उक्त आलेख सरसर्ती सुन्दा र गहिरोगरी अध्ययन गर्दा अघिल्लो सरकारका कामहरुका बारेमा अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित भएको एउटा आरोपपत्रमा प्रस्तुत भएको पाएँ', उनले भने।
उनले सत्ता पक्ष र विपक्षका बीचमा नीति विचार र दृष्टिकोणमा मतभिन्नता हुनसक्ने भए पनि मुलुकको आर्थिक अवस्थाको तथ्यांकको बारेमा कुनै विमति हुन नहुने बताए। आफ्नो आग्रह पुष्टि गर्न तथ्याकंको गलत प्रयोग वा तोडमोड गरिन नहुने उनको भनाइ छ।
उनले अर्थमन्त्रीद्वारा प्रस्तुत जानकारी पत्रमा तथ्यांकहरुको प्रयोग सुविधा अनुसार गरिएको पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।