काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताए।
सरकारले खोप आयात बढाएको उनको भनाइ छ। ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको बताए। बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए।
सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ। असोज मसान्त सम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए।
उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ। धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोप पहिला दिइने उनले बताए।
आगामी दिनमा सरकारले निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि वढाउने उनको भनाइ छ। निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफा भन्दा सेवामुखी बनाउन सरकारले पहल गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।