कुलप्रसाद केसी।
काठमाडौं- लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठनको तयारी हुँदैछ। मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको दाबी पेश गर्न आज बिहीबार दिउँसो ३ बजे सम्मको समयसीमा दिएका छन्।
अहिलेसम्म कांग्रेस-माओवादी केन्द्र-जसपा र राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनबाट माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेश गरेका छन्।
एमालेले सरकारका लागि दाबी पेश नगर्ने भएको छ। एमालेको दाबी पर्दा पनि केसी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ। माओवादी सांसद इन्द्रजित थारुका अनुसार साँझ ५ बजे मुख्मन्त्रीकाे शपथ हुने तयारी छ।
मुख्यमन्त्री केसीले आफ्नो मन्त्रिमण्डलमा आज कांग्रेस, माओवादी र जसपाबाट एक/एक जना मन्त्री बनाउनेछन्। कांग्रेसबाट पाल्पाका वीर बहादुर राना र दाङका डिल्ली चौधरीमध्ये एक जनाले मन्त्रीको शपथ लिने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनाैडियाले बताए।
यस्तै, जसपाबाट कपिलवस्तुका सहसराम यादव मन्त्री हुने सम्भावना छ। जसपाले सुमन शर्मा रायमाझी र पुर्मति ढेंगा मगरलाई पनि मन्त्री बनाउने तयारी गरेको। जसपालाई भाैतिक पूर्वाधार मन्त्रालय दिने सहमति भइसकेको जसपा स्रोतले जानकारी दिएको छ।
मन्त्री बनाउने विषयमा माओवादी संसदीय दलको बैठक अहिले बसिरहेको छ। आज प्युठानका कृष्णध्वज खड्काले मन्त्रीको शपथ लिने टुंगो लागेको माओवादीका एक सांसदले बताए। 'खड्काको टुंगो लागेपनि मन्त्री हुनेहरू लिस्ट लामै छ। १८ जना सांसदले नै मन्त्री चाहियो भनेर दलका नेता केसीलाई दबाब बढाइराख्नुभएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।