काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा केही विषय मिलाएपछि पारितका लागि संसद्मा पेश गरिने बताएका छन्।
देउवाले ‘केही विषय मिलाउन’ बाँकी रहेको बताएपनि संशोधन गर्ने शब्द भने प्रयोग नगरेको बताइएको छ। संस्थापन पक्षका नेताहरूको बैठकमा देउवाले १/२ विषय मिलाएपछि संसद्मा एमसीसी पेश हुने बताएका हुन्।
एससीसीलाई संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा राख्न प्रचण्ड तयार नभएको बारेमा भने प्रधानमन्त्रीले कुरै नगरेको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बताए।
‘एमसीसी प्रक्रियामा गइरहेको छ। केही कुराहरु मिलाउनुपर्ने भन्नुभयो। कसैलाई इंगित भने गर्नुभएको होइन’, शाहीले भने। एमसीसी संसद्बाट अनुमोदन गर्न १/२ विषय नमिलेको उल्लेख गर्दै मिलाएपछि संसद्मा पेश हुने देउवाले बताएका थिए।
बैठकमा चीनले नेपाली भूमि मिचेको विषयलाई साझा कार्यक्रममा नपारेकोप्रति उपसभापति विमलेन्द्र निधि र शाहीले जिज्ञासा राखेका थिए। चीनले सीमा मिचेको विषयमा द्विपक्षीय संवादका गर्ने कार्यलाई नसमेटिएकोमा निधिले जवाफ खोजेका थिए।
‘चीनले सीमा मिचेको कुरालाई किन नराखिएको भन्ने भयो। ‘छिमेकी मुलुकहरु’ भन्ने शब्द संयुक्त सरकारको साझा कार्यक्रममा परेको रहेछ। छिमेकी मुलुक भनेपछि चीन पनि पर्यो’, शाहीले भने।
गत वर्ष कर्णालीका कांग्रेस नेताहरु सम्मिलित एक टोली हुम्लामा चीनले सीमा मिचेको प्रतिवेदन सार्वजनिक गरेका थिए। कांग्रेस टोली सीमा क्षेत्रमा पुगेर अध्ययन प्रतिवेदन बाहिर ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।