काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनबाट कुलप्रसाद केसी ‘सोनाम’को मात्रै दाबी प्रस्तुत भएको छ। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा तोकेपनि अहिलेसम्म केसीले मात्रै दाबी प्रस्तुत गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्। ’संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ः०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुख कार्यालयका चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
माओवादी केन्द्रका नेता समेत रहेका केसीले मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गरेका हुन्। रोल्पा प्रदेश सभा एकबाट निर्वाचित केसीको पक्षमा ४१ सांसदको समर्थन रहेको छ।
जसमा माओवादी १८ जना, कांग्रेसबाट १९ जना, जनता समाजवादी पार्टीबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट एक जना रहेका छन्। हाल प्रदेश सभामा सभामुखसहित ८० सदस्य छन्।
आज दिउँसो तीन बजेसम्म दाबी प्रस्तुत गर्ने समय सकिएपछि मुख्यमन्त्रीको रुपमा केसीलाई बेलुका ५ बजे शपथ खुवाउने तयारी रहेको माओवादी सांसद इन्द्रजीत थारुले बताए।
‘अहिलेसम्म सोनाम कमरेडको मात्रै दाबी प्रस्तुत भएको छ’ नेपाल लाइभसँग कुरा गर्दै थारुले भने, ‘मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने तीन बजेको समय सकिएपछि बेलुका ५ बजे शपथ गर्ने तयारी गरिएको छ। ’मुख्यमन्त्रीको रुपमा केसीले शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी रहेको थारुले बताए।
यसैबीच, लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)ले दाबी नगर्ने भएको छ। नयाँ सरकारमा दाबी नगर्ने लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद हरिप्रसाद रिजालले बताए।
‘सांसद किनबेच गर्ने, होटलमा राख्ने कार्य हामी गर्दैनौं,’ उनले भने, ‘अब एमालेले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’ अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा असंवैधानिक तरिकाले विशेष अधिवेशन बोलाइएको सांसद रिजालको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।