काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार गर्न बनाइएको भिडियोबारे स्वयं देउवाले नै अनभिज्ञता प्रकट गरेका छन्।
आसन्न महाधिवेशनका लागि आफूनिकट नेताहरुको छलफलका क्रममा देउवाले भिडियोबारे जानकारी नभएको बताएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री देउवालाई भिडियोबारे जानकारी गराएका थिए।
भिडियोको सन्दर्भमा देउवापक्षीय दुई पदाधिकारीबीच विवादसमेत भएको बताइएको छ। महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच विवाद भएको थियो।
भिडियो बनाएर प्रधानमन्त्रीकै छविमा आँच पुगेको खड्काको भनाइ थियो। खड्काको प्रतिवादमा उत्रेका महतले सामाजिक सञ्जालमा दुई नेताले लेखेर गल्ती गरेको बताएका थिए।
महामन्त्री खड्का र प्रवक्ता शर्माले प्रधानमन्त्रीको सचिवालयले बनाएको भिडियोप्रति आपत्ति जनाउँदै पोस्ट नगर्न सुझाएका थिए। प्रधानमन्त्रीलाई भेटेर भन्न सकिने विषयलाई सामाजिक सञ्जालमा पोस्ट गरेकोप्रति महतको आपत्ति थियो। 'प्रोपोगाण्डा'ले प्रधानमन्त्रीलाई राम्रोभन्दा नराम्रो हुने खड्काको तर्क थियो।
बिहीबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीका लागि देउवाले निजीनिवास बूढानीलकण्ठमा आफूपक्षीय नेताको बैठक बोलाएका थिए। देउवापक्षीय बैठक सकिएपछि शीर्ष तहका सबै पक्षका नेताको बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।