काठमाडौं– तपाईँको घर वा कार्यालय अगाडि फोहर छ भने अब आफैं संकलन गरी निश्चित ठाउँमा फाल्नुहोला, नत्र स्थानीय सरकारले घरमै आएर वातावरण प्रदूषण गरेको अभियोगमा तपाईंलाई कारबाही गर्नेछ।
वन तथा वातावरण मन्त्रालयले मंगलबार कार्ययोजना बनाउँदै फोहर गर्ने संस्था र व्यक्तिलाई तत्काल सोही स्थानमा कारबाही गर्ने व्यवस्था गरेपछि स्थानीय तहका लागि कारबाही गर्ने बाटो खुलेको छ।
‘कुनै पनि भवन अगाडि जम्मा हुने धूलो तथा फोहर संकलन गर्ने जिम्मा सम्बन्धित घरधनी तथा उक्त घरमा कार्यालय वा संघसंस्था चलाउने पक्षको हुने र त्यसलाई अटेर गरे स्थानीय सरकारले प्रचलित कानुन बमोजिम कारबाही गर्ने’ कार्ययोजनामा उल्लेख छ।
विश्व वातावरण दिवसको अवसरमा मंगलबार ‘नेपाल स्वच्छ वातावरण महाअभियान’को कार्ययोजना सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याइएको हो। कार्ययोजनामा वातावरण मन्त्री शक्ति बस्नेतले बिग्रँदो वातावरण सुधार गर्न र वन जोगाउन ‘हरेक घर एक विरुवा’ को नीति पनि समावेश गरेका छन्।
काठमाडौंसहितका शहरहरुमा सवारीसाधनले गरेको प्रदूषण नियन्त्रणका लागि हालको व्यवस्था पुनरावलोकन गर्ने र युरो ४ को मापदण्ड तत्कालै लागू गरी २०७५ साउनभित्र पूर्ण कार्यान्वयन गराइसक्ने कार्ययोजनामा उल्लेख छ।
यस्तै, सडक वा सडकपेटीमा निर्माण सामग्री राख्न वा बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाउने तथा निर्माण कार्य गर्दा धूलो नउड्ने उपयुक्त विधिको प्रयोग गराउने पनि कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा ढुवानीका सवारीसाधनले सडकमा पानी लगायतका झोल पदार्थ नचुहिने गरी ओसारपसार गर्ने कार्यलाई कडाइका साथ लागू गर्ने उल्लेख गरिएको छ।
पर्यटकीय तथा सांस्कृतिक पहिचान बोकेका संवेदनशील क्षेत्रहरुमा विद्युतीय सवारीसाधन मात्र चलाउनेगरी आवश्यक कानुनी व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ।
औद्योगिक प्रतिष्ठानहरूलाई सार्वजनिक सूचना मार्फत स्वअनुगमन गरी प्रतिवेदन पेश गर्न लगाउने तथा छड्के अनुगमनलाई निरन्तरता दिने र प्रदूषण नियन्त्रण प्रमाणपत्रको व्यवस्था लागू गर्न वातावरण संरक्षण ऐन र नियमावलीमा आवश्यक संशोधन गर्ने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ।
महाअभियानबाट निम्न उपलब्धि हासिल गर्ने मन्त्रालयको लक्ष्य छ:
- सबै स्थानीय तहका खाली जग्गामा कम्तीमा ५ प्रतिशत वृक्षरोपण हुने।
- सबै स्थानीय तहमा न्यूनतम एउटा नमूना उद्यान स्थापना हुने।
- काठमाडौं सहित देशभरका सबै शहरमा दैनिक उत्सर्जन हुने फोहरमा २० प्रतिशतले कमी आउने।
- व्यक्ति र संस्थाहरुमा आफ्नो फोहर आफैं व्यवस्थापन गर्ने प्रणालीको विकास हुने।
- फोहरमैलाको सुरक्षित भण्डारण तथा प्रशोधन गरी उचित व्यवस्थापन एवं पुन:प्रयोग गर्ने प्रणालीको विकास हुने।
- विकास निर्माण कार्य, अस्पताल, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट लगायतका क्षेत्रबाट निस्कासन हुने धूलो, धुँवा, जल र ध्वनि प्रदूषणको मात्रामा कम्तीमा ३० प्रतिशतले कमी आउने।
- प्लास्टिक झोलाको उत्पादन र प्रयोगमा कमी ल्याई देशभर यस्तो झोलाको प्रयोगमा ५० प्रतिशत कमी आई कपडा र कागजका वैकल्पिक झोलाको प्रयोगले बढावा पाउने।
- गाउँ, घर, शहर, बस्ती, चोक सबै क्षेत्र सफा र सुन्दर हुने र सबै नेपालीले देश आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको अनुभूति गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।