काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारी चार्ज गर्न यही आर्थिक वर्षभित्र ५० स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरेकी छन्। बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले उक्त जानकारी दिएकी हुन्।
विद्युत् खपत बढाउने सरकारको नीतिअनुसार विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ सस्टेसन बनाउने निर्णय भएको उनले बताइन्।
यस्तै हेभी ड्युटीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी मात्र प्रयोग गर्ने उनले घोषणा गरिन्। यसका लागि विद्युतीय गाडी खरिद गरिने उनले बताइन्।
उनले आयातित ग्याँसलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महशुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिइन्। साथै, २० युनिटसम्म बत्ती बाल्ने गरिब, विपन्न जनतालाई निःशुल्क विद्युत दिने उनले बताइन्।
त्यस्तै किसानलाई सिँचाइमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत प्रदान गर्ने पनि निर्णय गरेको उनले बताइन्। ‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने पनि उनले स्पष्ट पारिन्।
उनले मन्त्रालयले आगामी दिनमा वितरण लाइन तथा सबस्टेशनहरुको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तरलाई सुधार गर्ने, सहरी क्षेत्रको विद्युतीकरणलाई भूमिगत गर्ने र विस्तार गर्ने, देशभर स्मार्ट मिटर जडानलाई विस्तार गर्ने, सवस्टेसनलाई अटोमेसन गर्ने, चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताइन्। हाल १६.९३ प्रतिशत चुहावट छ त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।