काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ। पोखरेलले आफूमाथिको अविश्वास प्रस्तावबारे छलफल हुन बोलाइएको विशेष अधिवेशन सुरु हुनुअघि बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए।
'प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज मिति २०७८/४/२७ गते अपराह्न १:१५ बजे नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरा प्रदेश सभाका माननीय सदस्यहरुको जानकारीको लागि पठाएको छु', शेरचनले प्रदेश सभामुखलाई पठाएको पत्रमा भनिएको छ।
मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। सोही दिन विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरिएको थियो।
प्रदेश सभामा अल्पमतमा रहेका मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव झेल्नुभन्दा राजीनामा दिने उपाय रोजेका हुन्। उनलाई स्वविवेक प्रयोग गर्न एमालेको प्रदेश संसदीय दलले भनेको थियो।
यसअघि गत वैशाख १९ मा पनि संसद् बैठक सुरु हुनुअघि राजीनामा दिएका पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोगमा अल्पमतमा छँदाछँदै पुनः मुख्यमन्त्री नियुक्त भई शपथ खाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।