काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छादारले संविधान त्रुटीपूर्ण रहेको बताउँदै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छादारले संविधानमा त्रुटी भएका कारण आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरि ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँध्ने काम गरेको आरोप लगाए।
बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान लेखनमा महत्त्वपूर्ण योगदान पुर्याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश पोखे।
‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ? मोहीको जग्गा छुट्याउने दायित्व मेरो थियो? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो। मलाई थाहा पनि थिएन् सो विषयमा। तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो। मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो’, उपसभापति गच्छादारले भने, ‘यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए।
पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनको आक्रोश थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।