काठमाडौं- लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलमाथिको अविश्वास प्रस्तावमाथि छलफल सकिएको छ। बुधबारको बैठकमा वीरेन्द्र कनौडियाले अविश्वास प्रस्ताव पेश गरेपछि त्यसमाथि छलफल प्रारम्भ भएको हो।
सांसद् सहसराम यादवले मुख्यमन्त्री पोखरेल अल्पमतमा हुँदाहुँदै पनि वैशाख १९ मा सपथ खाएको बताए। 'मुख्यमन्त्रीले अल्पमतमा परेपछि बाटो प्रशस्त गर्नुपर्थ्यो। तर जालझेल क्रियाकलाप गर्नुभयो,' उनले भने।
बैठक चलिरहँदा मन्त्री र सत्ता पक्षका सांसद्हरु उपस्थित भएका छैनन्। जसको चर्चा सांसद्हरुले गरेका छन्। 'आज यो गरिमामय सदनमा बडो विचित्रको अवस्था देखिरहेका छौं। आज सत्ता पक्षको बेञ्चमा न सरकारको उपस्थिति छ, न सत्तापक्षका कुनै माननीय सांसद्हरुको उपस्थिति छ। सायद संसदीय इतिहासमा यस किसिमको विचित्र अवस्था देखेको छैन,' कनौडियाले भने।
त्यस्तै तारा जिसीले हामी यो संसदीय अभ्यासमा कस्तो परम्परा बसाल्दै छौं? भन्दै प्रश्न उठाइन्। 'सत्ता पक्षका माननीयज्यूहरु कहिले सदन नै अवरोध गर्नुहुन्छ भने कहिले सदनमै प्रवेश गर्नुहुन्न। हामीले अहिले कस्तो परम्परा सिकाउँदैछौं पछिको पुस्तालाई?,' उनले भनिन्।
अर्का सांसद् कृष्णध्वज खड्काले पोखरेल नेतृत्वको सरकारले विगत चार महिनामा मूल्य मान्यताको सबै सीमाहरु नाघेको बताए। 'लुम्बिनी प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बदनाम गराए,' उनले भने।
बैठक २:४५ बजेसम्मका लागि स्थगित भएको छ। सो बैठकमा मुख्यमन्त्री पोखरेलले जवाफ दिने सभामुख पूर्णबहादुर घर्तिले बताए।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिइसकेको भए पनि प्रदेश सभामा सो पत्र आइनसकेकाले नियमित प्रक्रिया सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।