काठमाडाैं– मुख्यमन्त्रीबाट राजीनामा दिएर शंकर पोखरेलले बचेखुचेको लाज अलिकति बचाएको टिप्पणी कांग्रेस सांसद वीरेन्द्र कनोडियाले गरेका छन्।
संसद बैठकमा बोल्ने क्रममा कनोडियाले भने, ‘उहाँले बचेखुचेको लाज बचाउनुभयो। यही कुरा उहाँले १०/२० दिन अघि गरिदिएको भए राजनीतिक हाइट धेरै माथि हुने थियो।’
अविश्वासको प्रस्तावमा मतदान हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन्। प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीका प्रस्तावकसमेत रहेका कांग्रेस ससंदीय दलका नेता कनोडिया बोल्दै गर्दा एमाले सांसद उपस्थित थिएनन्।
सत्ता पक्षको बेन्चमा उपस्थित नभएको घटना संसदीय इतिहासमै नदेखेको उनले बताए। ‘संसदले दिएको अधिकार प्रयोग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थियौं। अल्पमतमा परेको पटक पटक भनेका थियौं। वैधानिकताको प्रमाणित गर्न आग्रह गरेका थियौं,’ कनोडियाले भने, ‘अविश्वास प्रस्ताव हामीले रहरले राखेको होइनौं। संसदमा अल्पमतमा रहेकाे र विश्वास गुमाइसकेपछि सत्तामा बस्ने अधिकार रहँदैन।’
अल्ममतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएर राष्ट्रिय छवि समेत बिगारेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।