काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।
एमाले संसदीय दलको बैठकपछि राजीनामा दिने निर्णय गरेका मुख्यमन्त्री पोखरेलले लगत्तै प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर राजीनामा बुझाएका हुन्।
'हामीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छौं, राजीनामा बुझाएर हामी फर्किएका छौं' नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका सचेतक भूमिश्वर ढकालले भने।
प्रदेश प्रमुख काम विशेषले जिल्ला बाहिर भएकाले पोखरेलको राजीनामा उनी आएपछि मात्र बुझाउने भनेर रोकिएको थियो। पोखरेलले राजीनामा दिनु अघि संसदीय दलको बैठक बोलाएर सांसदहरुसँग परामर्श गरेका थिए।
छलफलमा एमाले सांसदहरुले सबै परिस्थितिको आकलन गर्दै स्वविवेक प्रयोग गरेर निर्णय लिन पोखरेललाई सुझाव दिएका थिए।
विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न भन्दै बुधबार प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। तर त्यसअघि नै पोखरेलले राजीनामा दिएका छन्। अल्पमतमा परेका पोखरेलसँग एमालेका ३८ सांसद रहँदा विपक्षमा ४१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।