काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई स्वविवेक प्रयोग गरेर निर्णय लिन एमाले संसदीय दलले सुझाव दिएको छ।
संसदमा अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेलले बुधबार नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बोलाएर छलफल गरेका थिए। छलफलमा एमाले सांसदहरुले सबै परिस्थितिको आकलन गर्दै स्वविवेक प्रयोग गरेर निर्णय लिन सुझाव दिएको एमाले सांसद् रेवतीरमण शर्माले बताए।
‘संवैधानिक रुपमा नियुक्त भएका मुख्यमन्त्रीज्यूलाई अवैधानिक रुपमा हटाउन खोजिएको छ। त्यो आफैंमा विपक्ष गठबन्धनले असंवैधानिक काम गर्दै हुनुहुन्छ’, शर्माले भने, ‘यस्तो अवस्थामा मुख्यमन्त्रीले पहिले नै नैतिकताका आधारमा राजीनामा दिने कि अविश्वासको प्रस्ताव फेस गर्ने त्यो आफैं निर्णय लिनु हुनेछ।’ तर, आफूहरुले संसद बैठक बहिष्कार भने नगर्ने शर्माले बताए। संसदीय दलको बैठक सकिएपछि मुख्यमन्त्री पोखरेल आफ्नै कार्यकक्षमा आन्तरिक परामर्शमा लागेका छन्। संसद बैठक अघि पोखरेलले आफू निकट सांसद र कानुनविद्सँग परामर्श गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।