काठमाडौं- लुम्बिनी प्रदेशको विशेष अधिवेशन आह्वान संविधान विपरित रहेको प्रदेश सरकारका ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले बताएका छन्।
बुधबार दिउँसोका लागि बोलाइएको संसदको विशेष अधिवेशनबारे नेपाल लाइभसँग कुरा गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। संविधान विपरितको कार्य भएकाले आफूहरु सर्वोच्च अदालत गएको उनको भनाइ छ।
मन्त्री रिजालले सर्वोच्चमा मुद्दा चलिरहेको भन्दै फैसलाको प्रतिक्षा नगरी संसदीय प्रकृया सुरु हुन नसक्ने भन्दै आजको संसद एमालेले वहिष्कार गर्ने संकेत गरे।
'विशेष अधिवेशनको आह्वान नै संविधान विपरित छ। संविधान विपरित भएको भन्दै हामी सर्वोच्च गएका छौं। फैसला प्रतिक्षा नगरी संसदीय प्रक्रिया सुरु हुन सक्दैन', उनले भने, 'आह्वान नै गलत तरिकाले गरेको भन्दै हामी सर्वोच्च गइसके पछि संसद्मा उपस्थित हुने/ नहुने प्रश्न नैं रहेन।'
उनले जबरजस्ती संसद चलाउन नमिल्ने बताए। 'बल मिच्याई गरेर संसद चलाएर हुन्छ र? संसद्को फैसला कुर्नुपर्छ', मन्त्री रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।