काठमाडौं- लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा नदिएको बताएका छन्।
बुधबार बिहान मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएकोबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा चर्चा चलेको भएपनि त्यसमा सत्यता नभएको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको भन्दै प्रतिपक्षी माओवादी केन्द्रले हल्ला फैलाएको आरोप लगाए। 'मुख्यमन्त्रीले राजीनामा दिनु भएको छैन। माओवादीको प्रपोगण्डा हो यो। राजीनामा दिने निर्णय भएको छैन' उनले भने।
बुधबार दिउँसो बोलाइएको संसदको विशेष अधिवेशन तथा बैठकमा टेबल हुने अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको छ। बैठक केही समयकालागि स्थगित भएको एमाले प्रदेश सभा सदस्य रेवतिरमण शर्माले जानकारी दिए। खाना खाएपछि बैठक पुन: सुरु हुने उनले बताए।
विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेश सभाको विशेष अधिवेशन शुरु हुँदैछ।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् भने विपक्षमा ४१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।