काठमाडौं- संसदको विशेष अधिवेशन र मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावका बारेमा छलफल गर्न बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक केही समयकालागि स्थगित भएको छ।
बुधबार दिउँसो बोलाइएको संसदको विशेष अधिवेशन तथा बैठकमा टेबल हुने अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न बिहान बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक केही समयकालागि स्थगित भएको एमाले प्रदेश सभा सदस्य रेवतिरमण शर्माले जानकारी दिए।
'संसदीय दलको बैठक केही समयका लागि स्थगित भएको छ। अब खाना खाएर फेरि दलको बैठक बस्ने भएको छ' शर्माले नेपाल लाइभसँग भने।
बैठकमा मुख्ममन्त्री शंकर पोखरेलले पछिल्लो परिस्थितिबारे जानकारी गराएका छन्। उनले राजनीतिक र कानुनी रुपमा आफूहरुलाई अप्ठ्यारो पार्ने काम गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। आफूहरु अझै कानुनी रुपमा बलियो रहेको भन्दै उनले सांसदहरुसँग सुझाव मागे।
'हामी कानुनी रुपमा बलियो छौं, अब कसरी अगाडि बढ्ने तपाईंहरुले सुझाव दिनुस्', मुख्यमन्त्री पोखरेलको भनाइ उदृत गर्दै शर्माले भने। खाना खाएपछि बैठक पुन: बस्ने र त्यसमा सांसदहरुले आ-आफ्नो धारणा राख्ने शर्माले बताए।
विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेश सभाको विशेष अधिवेशन शुरु हुँदैछ।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् भने विपक्षमा ४१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।