काठमाडौं– संसदको विशेष अधिवेशन र मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावका बारेमा छलफल गर्न नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।
बुधबार दिउँसो बोलाइएको संसदको विशेष अधिवेशन तथा बैठकमा टेबल हुने अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न बैठक बसिरहेको एमाले प्रदेश सभा सदस्य रेवतिरमण शर्माले जानकारी दिए।
बैठकमा कतिपय सांसदले अविश्वासको प्रस्ताव फेस गर्न मुख्यमन्त्री शंकर पोखरेललाई सुझाव दिएका छन् भने केहीले राजीनामा दिन सुझाव दिइरहेका छन्।
संसदीय दलको बैठक अघि लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेको थियो।
दुबै बैठकपछि मात्र प्रदेश सरकारको आगामी कदमबारे रणनीति तय हुने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। ‘मुख्यमन्त्रीले के गर्नुहुन्छ बैठकपछि मात्र थाहा हुन्छ,’ उनले भने। दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने उनले संकेत गरे।
विपक्षी दलहरुले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेश सभाको विशेष अधिवेशन शुरु हुँदैछ।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् भने विपक्षमा ४१ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।