आइएससी पास गरेपछि सन् १९४५ तिर बनारसबाट कलकत्ता गएँ। बिएससीमा नाउँ लेखाएँ। विश्वयुद्ध (दोस्रो) चलिरहेको थियो। (जर्मनीका शाषक) हिटलर कमजोर हुँदै थिए। ब्रिटिस एक्लैले नसके पनि अमेरिका र रुसले सघाएपछि बल्ल हिटलर कमजोर भए।
सन् १९४५ को अगस्ट ६ तारिखमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणुबम खसाल्यो। त्यसमा करिब एक लाख मानिस मरे। सहर ध्वस्त भयो। त्यो नै विश्वयुद्धको निर्णायक घटना साबित भयो।
युद्ध सकिएलगत्तै भारतले ब्रिटिस उपनिवेशबाट मुक्ति पायो। सन् १९४५ जुनमा बेलायतले भारतलार्य स्व्तन्त्रता दिने घोषणा गर्यो। भारत छोडो आन्दोलनका नेता महात्मा गान्धीलगायत सबै नेता रिहा भए। त्यसका लागि छलफल गर्न सर पेथिकक लरेन्सको नेतृत्वमा एउटा टोली सन् १९४६ को मार्चमा भारत आयो।
भारतलाई सत्ता हस्तान्तरण गर्नेबारे बेलायतको क्याबिनेट मिसनका प्रतिनिधि र भारतीय नेताबीच छलफल हुँदा मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले दुई राष्ट्रको सिद्धान्त अघि सारे। अर्थात्, उनले पश्चिमोत्तर सीमाप्रान्त पञ्जाब, सिन्ध र बंगाललाई मिलाएर बेग्लै पाकिस्तानको माग राखे। त्यसलाई भारतीय काग्रेंसले मानेन। गान्धीजी अखण्ड भारतकै पक्षमा अडिग थिए। जिन्ना भन्थे, ‘हामी अखण्ड भारतमा बसन सक्दैनौँ। हिन्दूहरुको अधीनमा हाम्रो हित हुँदैन।’
बेलायतको पार्लियामेन्टको मिसन, भारतीय काग्रेंस र मुस्लिम लिगबीचको वार्ता असफल भयो। सन् १९४६ को १६ अगस्टबाट मुस्लिम लिगले ‘डाइरेक्ट एक्सन’ अर्थात ठाडो कारबाही थाल्यो। कलकत्तालगायत सहरमा हिन्दू–मुस्लिम दंगा भड्कियो।
हामी बसेको होस्टल हिन्दू र मुस्लिमबहुल क्षेत्रको बीचमा पथ्र्यो। मलाई सम्झना छ, त्यस दिन राति चारैतिर आगो दन्किएको थियो। आकाश रातो देखिन्थ्यो। हामी बसेको ठाउँमा पनि हिन्दू–मुस्लिम दंगा भड्किने त्रास थियो।
मुस्लिमबहुल टोलबाट आवाज आउँथ्यो, ‘अल्लाह हो अकबर।’ अनि हिन्दूहरु अर्कातिरबाट कराउँथे, ‘हरहर महादेव, जय वजरंग बली।’
हामी बसेको क्षेत्रमा मुस्लिमहरु हमला गर्न आएका बच्न भनेर साथीहरुले सोडा वाटरका बोतल, हकी स्टिक, लाठी, धारिला हतियार र ढुंगा ल्याएर कौसीमा थुपारेका थिए। त्यसदिन सन्ध्याकालीन टेलिग्राफमा प्रकासित समाचारअनुसार दंगामा एक हजार मानिसको ज्यान गइसकेको थियो।
कलकत्तामा तीन दिनभित्र ४ हजार मानिस दंगाकै क्रममा मारिए। सडकमा चारैतिर मरेका मानिसका लास त्यसै अलपत्र थिए। दुर्गन्ध फैलिएको थियो। केही दिनपछि सेनाले लास उठाउन थाल्यो। कोलकाताको आगोको फिलुङ्गो पुग्यो, पन्जाब। पन्जाबमा झन् भयानक हिँसा भयो। मानिस धेरै मारिए। रेलका रेल मालगाडीमा लास आउँथे।
खुसवन्त सिंहको उपन्यास ‘ट्रेन टु पाकिस्तान’ मा यसको मार्मिक चित्रण गरिएको छ।
गान्धी त्यस बेला कलकत्ताको बेलगाछी भन्ने ठाउँमा आएर बसेका थिए। त्यो ठाउँ हाम्रो होस्टलनजिकै थियो। एक दिन गान्धीको सभामा बंगालका मुस्लिम लिगका मुख्यमन्त्री हसन सहिद सहरावर्दीलाई देखेपछि हिन्दू समर्थक आगो भए।
ती मुस्लिम नेता आफूहरुलाई सुम्पन हिन्दू भीडले माग गर्दा गान्धीले मानेनन्। कसैले भीडबाटै गान्धीलाई काठको चिर्पटले हान्यो। गान्धी घाइते भए। त्यसपछि हिन्दू–मुस्लिम एकताका लागि उनी अनशन बसे। त्यसले दंगामा चामत्कारिक प्रभाव पार्यो। कलकत्ता शान्त भयो।
तैपनि हिन्दू–मुस्लिम कटुता भुसको आगोझैँ फैलिएको थियो। त्यस बेला मुस्लिम लिग, काग्रेंस र स्वतन्त्र केही व्यक्ति राखेर अन्तरिम सरकार पनि बन्यो। नेहरु प्रधानमन्त्री भए। उपप्रधानमन्त्री मुस्लिम लिगको प्रतिनिधि लियाकत अलि खाँ भए। तैपनि हिन्दू–मुस्लिम दंगा रोकिएन।
महात्मा गान्धी अखण्ड भारतको अडानमा कायमै थिए। जवाहरलाल नेहरुमा केही विचलन देखियो। उनले गान्धीलाई भने, ‘बापु, मानिस मरिरहेका छन के गर्ने?’
गान्धीले नेहरुलाई भने, ‘भारत–पाकिस्तान विभाजन गर्ने भए मेरो शरीरलाई पनि दुई टुक्रा गर्नु।’
आखिर गान्धीजीको पनि केही जोर चलेन। अडान र आदर्श एक ठाउँमा हुन्छ, समयको यथार्थ बेग्लै। साम्प्रदायिक दंगा नरोकिएपछि बेलायत सरकारले भारत र पाकिस्तान अलगअलग राष्ट्रको रुपमा घोषणा गर्यो।
सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान र १५ मा भारत स्वतन्त्र मुलुकको रुपमा स्थापित भए।
काग्रेंस कार्यसमितिको बैठकमा गान्धीले नै त्यससम्बन्धी प्रस्ताव राखेका थिए। त्यसबारे भारतीय काग्रेंसका अध्यक्ष अब्दुल कलाम आजादको एउटा किताबमा विस्तुत वर्णन छ। आजाद नेहरुकै साथी। उनी मरेपछि मात्रै किताब प्रकासित भयो।
त्यो पुस्तकका अनुसार काग्रेंस कार्यसमिति बैठकमा गान्धीजी आफैले भने, ‘हेर्नुस, राजनीति गर्ने मानिसको खुट्टा आकाशमा होइन, ठोस धरातलमा हुनुपर्छ। पाकिस्तान अब एउटा राजनीतिक वास्तविकता भइसक्यो, त्यसलाई नाइँ भन्न मिल्दैन।’
गान्धीजीको मुखबाट त्यो सुनेपछि मैले कुनै बेला सीतामढी स्कुलमा पढ्दा देखेको खद्दरधारी नेता गान्धीका शिष्य अब्दुल जफार खाँका आँखाबाट आसँसु झरे। उनका दाजुले भने, ‘बापु, पाकिस्तान बन्ने भयो, तपाईले हामीलाई ब्वाँसोको जिम्मा लगाइदिनुभयो।’
भारत स्वतन्त्र भएको पाँच महिनापछि सन् १९४८ को जनवरी ३० मा हिन्दू युवक नाथुराम गोड्सेले प्रार्थनासभामा गान्धीको हत्या गरे।
(यो लेख नेपाली कांग्रेसका बरिष्ठ नेता स्व.रामहरि जोशीको ‘अध्यारोबाट उज्यालोतिर’ पुस्तकबाट साभार गरिएको हो।उनकाे ३ महिनाअघि ९१ वर्षकाे उमेरमा निधन भएकाे थियाे।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।