काठमाडौं- नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले कोका-कोला फाउन्डेसनको साथमा कोभिड-१९ महामारीको बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा बढाउनका लागि साझेदारी गरेको छ।
उक्त साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेका खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई खोप लगाउनका लागि यातायात सुविधा प्रदान गर्नु रहेको जानकारी दिइएको छ।
यसै सन्दर्भमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एक समारोहबीच नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका-कोला नेपालका प्रतिनिधिहरुले अस्पतालका डा रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे।
साझेदारी परियोजनाको रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएसनका स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। वितरित सामग्रीमा १२ हजार ५०० सर्जिकल मास्क, पाँच हजार जोडी पञ्जा र ९६० बोतल सेनिटाइजर रहेका थिए।
साथै, देशभरका खोप केन्द्रहरुमा ३१ हजारभन्दा बढी स्वास्थ्य सहयोगीहरु खटाइएको संस्थाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।