कञ्चनपुर- युवा अवस्थामै कमाउनका लागि भारत पुगेका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नुपर्ला भनेर सपनामा समेत चिताएका थिएनन्।भारततर्फ जाने बेला रु चार हजार मूल्य बराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्किएका उनलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो।
पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पुर्याइयो र उनले पूरै युवा उमेर कारागारमा बिताए।
कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नुपरेको ऐरले सुनाए।
'कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन,' उनले भने, 'कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन।' कमाउने पूरै उमेर कारागारमा बिताएपछि ६ महिनाअघि उनलाई रिहाइ गरिएको हो।
रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थाले उनले। सोही क्रममा नेपालीसँग भेट भयो। उनीहरुले फेसबुकमा ऐरको फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए। छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए।
सोमबारमात्रै उनी घर आएका हुन्। जेठो छोरा ८ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उहाँ भारततर्फ लागेका थिए उनी। फेसबुकमा देखाइएका बुबा नै भएको छोराहरुले बताएपछि चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भनिन्। 'धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ,' उनी भन्छिन्, 'यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पुर्याएछन्। पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ।'
भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै गरेको भतिजा रमेशबहादुर ऐरले बताए। भने, 'भेटिएपछि खुसीको सीमा नै रहेन।'
वर्षौंअघि हराएका उनी भेटिएपछि गाउँका सबै बासिन्दामा खुसीयाली छाएको छ। गाउँलेहरु भेट्न उनको घरमा जम्मा हुन थालेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।