फाइल तस्बिर काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत गुल्मीका लक्ष्मीकान्त पाण्डे गत वैशाख २ गते कम्पनीबाट छुट्टी लिएर नेपाल आएका थिए। त्यसको एक महिनापछि नै यूएईले अन्य मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगायो।
करिब तीन महिनापछि अगस्ट ५ बाट लागू हुनेगरी यूएईले नेपालसहित विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायो। प्रतिबन्ध हटेको समाचार थाहा पाउनसाथ लक्ष्मीकान्त गुल्मीबाट काठमाडौं आए। एयर अरेबियाको 'रिटर्न' टिकट भएका उनी टिकट बुकिङका ट्राभल एजेन्सी पुगे। तर, ट्राभल एजेन्सीले यूएईका लागि टिकट बुकिङ नै सुरु नभएको जानकारी दियो।
'प्रतिबन्ध खुलेपछि कम्पनीले तत्काल आउनू भनिरहेको छ। तर, यहाँबाट उडान नै सुरु नहुँदा समस्यामा परेँ,' पाण्डेले भने। त्यसपछि आफूले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), विमानस्थल कार्यालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतमा फोन गरेर बुझेको बताए। तर, कतैबाट पनि यथार्थ जवाफ नपाएपछि उनी निराश बनेका छन्।
'एयरलाइन्सहरुले विमानस्थलमा र्यापिड टेस्टको व्यवस्था नभएसम्म टिकट बुकिङ नखुलाउने भनेर सूचना जारी गरेका छन्। टेस्टको व्यवस्था कसले गर्ने हो? कहिलेबाट हुने हो कतैबाट जवाफ पाइएन,' उनले भने।
पाण्डेजस्तै यूएई फर्कने तयारीमा रहेका सयौं युवाले यो समस्या भोग्नुपरेको छ। करिब पाँच हजार नेपाली यूएईबाट विदामा आएको र अब फर्कन खोज्द समस्यामा परेको अनुमान छ। उनीहरुमध्ये कतिपयको तत्काल फर्कन नपाए भिसा अवधि नै सकिने समस्या रहेको पाण्डे बताउँछन्। 'म भिसा रिन्यु गरेर बिदामा आएको हुँदा भिसाको समस्या छैन। तर, मेरै कम्पनीका एक जना साथीको एक/दुई दिनमा फर्कन नपाए भिसा एक्स्पायर हुँदै छ। अरु पनि धेरै छन् यस्तो समस्या भएको,' पाण्डेले भने। होटलमा बस्नुपर्दा कोभिड संक्रमणको जोखिमसमेत भोग्नुपरेको उनको भनाइ छ।
०००
यूएईले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण लगाएको प्रतिबन्ध हटाए पनि नेपाली कामदारहरु फर्कन पाएका छैनन्। नेपालको विमानस्थलमा 'र्यापिड टेस्ट'को व्यवस्था नहुँदा नेपाली कामदार फर्कन समस्या देखिएको हो।
यूएईको नेसनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथोरिटी (एनसीईएमए)ले त्यहाँ आउने यात्रुलाई ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र नेपालको विमानस्थलमा चार घण्टा अगाडि अनिवार्य र्यापिड टेस्ट गरिएको हुनुपर्ने मापदण्ड तोकेको छ। नेपालबाट उडान भर्ने एयरलाइन्सहरुले त्रिभुवन विमानस्थलमा र्यापिड टेस्टको व्यवस्था नभएको कारण देखाउँदै टिकट बुकिङ नखुलाउँदा बिदामा आएका नेपाली कामदारहरु फर्कन नपाएर समस्यामा परेका छन्।
यूएईस्थित नेपाली दूतावासले जारी गरेको सूचना।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने फ्लाई दुबाईबाहेकका विमान कम्पनीहरुबाट जाँदा समस्या नरहेको बताए। विमानस्थलमा सम्बन्धित एयरलाइन्सले नै अस्थायी रुपमा र्यापिड टेस्ट गरेर यात्रु पठाइरहेको उनले बताए। 'निर्माण कार्य पनि चलिरहेकोले पर्याप्त ठाउँ छैन। यात्रुको चाप हुने भएकोले टेस्ट गराउने उपयुक्त ठाउँ व्यवस्थापन गर्दैछौं। अहिले पार्किङ क्षेत्रमा राखेर एयरलाइन्सहरु आफैंले टेस्ट गरेर पठाइरहेको छ,' उनले भने।
महाप्रबन्धक तिवारीले गलत जानकारी पाएका कारण एयरलाइन्सहरुले हिजो टिकट बिक्री नगरेको बताए। 'हिजो अलि कन्फ्युज भएर एयरलाइन्सहरुले सूचना जारी गरेको रहेछ। आज दिउँसो बुझ्दा फ्लाई दुबाईबाट जाने यात्रुलाई मात्रै इन्ट्री नदिने भनेको रहेछ। नेपाल एयर, एयर अरेबियालगायत अन्य एयरलाइन्सबाट जाने यात्रुलाई समस्या छैन,' उनले भने।
नेपाल वायु सेवा निगमले टिकट बुकिङ खुला गरिएको तर अझै नीतिगत रुपमा स्पष्ट हुन नसकेको बताएको छ। 'हामीले आजबाट टिकट बुकिङ खुला गरेका छौं तर एन्टिजेन टेस्टबारे यूएई सरकारको नीतिमा अझै स्पष्ट हुन सकेका छैनौं,' निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले भने। विमानस्थलले स्थान उपलब्ध गराए परीक्षण गरेर पठाउन आफूहरु तयार रहेको उनले बताए।
टिकट बुकिङ खुलाए पनि तत्काल यूएईको उडान सञ्चालन हुनेमा अनिश्चित रहेको एयरलाइन्सका अधिकारीहरु बताउँछन्। जसले तत्काल यूएई फर्कने तयारीमा रहेकाहरु अन्योलमा परेका छन्।
यता सरोकारवाला निकायका अधिकारीहरु भने यस विषयमा बेखबर देखिएका छन्। सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले यस विषयमा अहिलेसम्म आफूहरुलाई जानकारी नभएको बताए। उनले र्यापिड टेस्ट बन्द गरिएको र विमानस्थलमा राख्नै परे स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्ने बताए। सीसीएमसीको काम समन्वय गर्ने मात्र भएको उनको भनाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले यो विषय मन्त्रालयले नहेर्ने बताए। 'मन्त्रालयले फ्लाइट सेड्युल मिलाउने मात्र हो, त्यो विषय सीसीएमसीले हेर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।