काठमाडौं– एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन तथा तेस्रो एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक काठमाडौंमा सुरु भएको छ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका हुन्।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक बालविकासलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे। उनले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन पनि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले प्रारम्भिक बालविकासको माध्यमबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको योजना रहेको बताए। उनले सरकारले बालबालिकाहरुको उचित शिक्षालाई ध्यानमा राखेर विद्यालय भर्ना अभियानलाई चरणवद्ध रुपमा अघि बढाएको पनि स्मरण गराएका थिए।
एसिया प्रशान्त क्षेत्रका प्रारम्भिक बालबालिकाहरुको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षाजस्ता विषयमा गुणस्तरीय सुधार ल्याउने उद्देश्यका साथ सरकारको अगुवाईमा सम्मेलन आयोजना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।
३ दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा बालविकासका क्षेत्रमा कार्यरत नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विकास नियोगका प्रतिनिधिहरुसहित करिब ७ सय जनाको सहभागिता रहेको छ। सम्मेलनले एसिया प्रशान्त क्षेत्रको बाल स्याहार तथा उनीहरुको शिक्षाको गुणस्तर वृद्धिका लागि ठोस धारणा बनाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।