काठमाडौं– बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली पहिरोको उद्गम बिन्दु भ्रेमाथान जाने भएको छ। बुधबारै जाने तयारी गरिएकोमा मौसम प्रतिकुल भएका कारण जान नसकिएकाले आज (बिहीबार) भूर्गभविद्सहितको टोली जान लागेको हो।
खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटा संयोजकत्वको प्राविधिक टोलीले बाढी र पहिरोको कारणबारे विस्तृत अध्ययन गर्ने जनाइएको छ। टोलीमा विभागका अर्का भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहेका छन्।
अध्ययन टोलीले केही दिनसम्म लेदो बगेको मुहानमै बसेर अध्ययन गर्ने तयारी गरेको छ।अध्ययनको लागि चाहिने उपकरणका साथै ड्रोनमार्फत त्यस क्षेत्रको अवस्था अध्ययन गरिने खानी विभागले जनाएको छ।
सिन्धुपालचोकको भ्रेमाथानको माथि नै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले जानकारी दिए।
स्थलगत अध्ययनपछि मात्र के कारणले बाढी पहिरो आयो भनेर कारण थाहा हुने उनले बताए। यसअघि विभिन्न सरोकारवाला निकायको टोलीले त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भए तापनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन।
अध्ययनपछि लेदो बग्नुको कारण र त्यस क्षेत्रमा आगामी दिनमा हुने जोखिमबारे थाहा हुनेछ।
मेलम्चीमा असार १ गते र साउन १६ गते आएको समान प्रकृतिको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठूलो नोक्सानी गरेको छ। मेलम्चीमा बाढी र लेदो बग्न नरोकिएपछि त्यस क्षेत्रका बस्तीसमेत जोखिममा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।