काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। मंगलबार साँझ बलुवाटारमा करिब पौने घण्टा भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
भेटमा १४औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन र समायोजन समितिको प्रतिवेदनका बारेमा छलफल भएको स्रोतले बताएको छ। समायोजन समितिले सर्वसम्मतिबाट गरेको निर्णय केन्द्रीय समितिमा पेस गरी पारित गरिसकेको विषयमा रामचन्द्र पौडेलपक्षबाट विवाद ल्याउने काम भएको भन्दै निधिले आपत्ति जनाएका थिए।
'निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत होइन। जस्तो: बागलुङको अन्य पार्टीबाट प्रवेश गरेकालाई समायोजन समितिले पास गरी केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ। क्रियाशील सदस्यता छानबिन समितिमा यो कुरा स्वीकार्य हुँदैन,' निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
समायोजन समितिले सर्वसम्मत निर्णय गरेकोमा पनि विवाद निकाल्ने काम भएको उनको भनाइ थियो। सप्तरीमा देउवा, पौडेल, निधि गगन थापा लगायतका नेताहरुले पार्टी प्रवेश गराएको तर उनीहरुलाई दिनु हुँदैन भन्ने अडान ठीक नभएको कुरा उठेको थियो।
सभापति देउवाले भोलि ३ बजे पदाधिकारी बैठकमा कुरा राख्ने बताएका थिए। मन्त्रीमण्डल विस्तार र सहयात्री दलहरुका विषयमासमेत छलफल भएको बताइएको छ। निधिले मन्त्रीमण्डल विस्तार गर्दा समावेशी र सबैपक्षको प्रतिनिधित्व गर्न, प्रस्तावित सहकारी बैंक स्थापना, राजर्षी जनक विश्वविद्यालयको जग्गा प्राप्ति, महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको संगठनात्मक संरचना बनाउन आग्रह गरेका थिए। त्यसमा सभापति देउवाले आफू सकारात्मक भएको बताएका थिए।
दुई नेताबीच १४औं महाधिवेशनका विषयमा पनि छलफल भएको थियो। निधिले सभापतिमा आफूलाई समर्थन गर्न देउवासँग आग्रह गरेका थिए। उनले चाँडै सम्पर्क कार्यालय खोल्न लागेको जानकारी गराउँदै उद्घाटनमा उपस्थित हुन आग्रह गरेको स्रोतको भनाइ छ।
देउवाले भने आफू अन्तिम पटकका लागि सभापतिमा उठ्ने र त्यसमा सहयोग गर्न आग्रह गरेका थिए। तर, निधिले सभापतिको उम्मेदवार बन्ने अडान दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।