काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडि बढाउने बताएका छन्।
आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए। पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा मंगलबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिति संयोजक समेत रहेका थापाले स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिन निर्देशन दिए।
महाधिवेशनअघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशनपश्चात् भ्रष्टाचार, सर्वसत्तावाद, धर्मपरिवर्तन, बेरोजगारका विषयमा सशक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए।
राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउनका लागि सबैले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो। महाधिवेशन, स्थानीय तह निर्वाचन र संसदीय निर्वाचनलाई मध्यनजर गर्दै कार्यतालिका बनाएर परिचालित हुन थापाको निर्देशन छ।
थापाको संयोजकत्वमा केही समयअघि परिचालन समिति समेत गठन भएको थियो। आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान, भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितिका सदस्यहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।