विराटनगर– खानेपानीको समस्या खेप्दै आएका धरानका बासिन्दाले अब राहत पाउने भएका छन्।
धरान खानेपानी आयोजनाले जंगलमा बोरिङ गरी निकालिएको पानी खानेपानी संस्थानको ट्यांकीसम्म पुर्याउने भएपछि समस्या समाधान हुन लागेको हो।
बोरिङ गरी निकालिएको पानी ट्यांकीसम्म पुर्याउन पिण्डेश्वर सव–सिस्टम र सुम्निमा सव–सिस्टमको रिजर्भ वेयर निर्माण गरिएको छ। आयोजनाले दैनिक ६० लाख लिटर पानी आपूर्ति गर्न सक्नेगरी काम गरेको छ।
दुईमध्ये पिण्डेश्वरको ट्यांकी र पाइपलाइन सफा गर्न केही दिन लाग्ने र सुम्निमा सव सिस्टमबाट तत्कालै पानी वितरण गर्न सकिने आयोजना प्रमुख राजु पोखरेलले बताए।
‘पानी वितरण सुरु गरिएसँगै संस्थानले धरानमा पानीको अभाव केही हदसम्म भए पनि घटाउन सक्छ’, उनले भने।
धरान उप–महानगरपालिका र आयोजनाको टिमले पाइप जडान गरी पानी वितरणको व्यवस्था मिलाउन संस्थानलाई आग्रह समेत गरिसकेका छन्।
तत्कालका लागि दैनिक ५० लाख लिटर पानी खरिद गर्ने सहमति भएको संस्थानका शाखा प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठले बताए।
‘हामीले उपमहानगरपालिकालाई पत्र लेखेर ५० लाख लिटर पानी आयोजनाबाट खरिद गर्नेगरी पाइप जडान गर्न पत्र लेखेका छौं’, श्रेष्ठले भने।
खानेपानी आयोजनाका प्रमुख इञ्जिनियर पोखरेलले मेयर तारा सुब्बाको निर्देशनमा संस्थानको ट्याङ्कीमा पानी जोड्न थालिसकिएको जानकारी दिए। सुरुमा सुम्निमा सव सिस्टम र केही दिनपछि पिण्डेश्वरको स्टेशनबाट पाइप जडान गरिने उनले बताए।
धरानमा दैनिक करिब २ करोड लिटर पानीको आवश्यकता रहे पनि संस्थानले १ करोड २० लिटर पानी आपूर्ति गर्दै आएको संस्थानले जनाएको छ। धरान उपमहानगरमा खासगरी फागुन र चैतमा खानेपानीको चरम अभाव हुने गरेको छ। त्यसमध्ये पनि वडा नम्बर ६, ७, ८, ९, १०, १२ र १५ मा अहिले पनि पानीको संकट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।