काठमाडौं– आगामी डिसेम्बरमा फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस युनिभर्स २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै मनिषा डंगोल श्रेष्ठ जाने भएकी छिन्।
राजधानीमा आयोजित कार्यक्रममा इ–प्लानेट प्रालिले मनिषालाई ‘मिसेस नेपाल युनिभर्स २०१८’को ताज पहिर्याआउँदै ‘मिसेस युनिभर्स’ मा भाग लिन फिलिपिन्स पठाउने जानकारी गराएको हो।
प्रतियोगितामा जानुअघि मनिषाले कोरियोग्राफर रोजिन शाक्यबाट अभिमुखीकरण र प्रशिक्षण लिने इ-प्लानेटले जनाएको छ।
दुई सन्तानकी आमा उनी फेसन डिजाइनर समेत हुन्। लामो समयदेखि लन्डनमा बस्दै आएकी उनले त्यहाँ 'लन्डन फेसन हाउस' सञ्चालन गरी नेपाली फेसन र संस्कृतिको प्रवर्द्धन गर्दै आएको नेपाल लाइभलाई बताइन्। उनी गैरआवासीय नेपाली संघमा पनि सक्रिय छिन्।
यसअघि इ-प्लानेटले मिसेस युनिभर्समा सहभागिताका लागि २०१३ मा मीना घिमिरे, २०१४ मा रजनी थापा र २०१६ मा पद्मिनी झालाई पठाएको थियो। जसमा घिमिरेले मिसेस कन्जिन्यालिटी र थापाले ब्युटीफुल लेडी अवार्ड जितेका थिए।
डिसेम्बर ३ देखि १० सम्म हुने ‘मिसेस युनिभर्स २०१८’ मा ३० भन्दा बढी देशका ४५ वर्षसम्मका विवाहित महिलाहरु सहभागी हुनेछन्। मनिषाले प्रतियोगितामा नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रयास गर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।