काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सन्दर्भमा छानबिन समितिबाट प्राप्त प्रतिवेदनमार्फत जे तथ्य हो, त्यही नै सार्वजनिक गर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद्हरुले उठाएका क्रममा जवाफ दिने क्रममा उनले तथ्यप्रति अडान लिने पनि बताए।
प्रतिनिधि सभामा खाँणलाई प्रश्न सोध्दै कांग्रेस सांसद गगन थापाले आफ्ना नागरिकको लागि सरकार निरन्तर लडिरहन्छ भन्ने विश्वासको माग गरेका थिए। जसप्रति मन्त्री खाँणले प्रतिबद्धता व्यक्त व्यक्त गरेका हुन्। 'नेपाल सरकारले जे तथ्य हो, त्यही नै सार्वजनिक गर्ने छ। र त्यो तथ्यका लागि नेपाल सरकारले पूर्ण अडान लिनेछ। जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्नेछु', उनले भने।
उनले सरकारले बनाएको छानबिन समितिले घटनास्थलमै पुगेरै छानबिन गर्ने बताए। साथै, तुइन तर्न सफल भएका, बाँकी रहेका र त्यहाँका आम नागरिकसँग पनि बुझ्ने र सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने बताए। 'प्रतिवेदनले ठहर गरेको निष्कर्षलाई सकरारले दृढताका साथ अगाडि बढाउने छ। नागरिकहरुको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो। नागरिकको जीवन रक्षाका लागि नै राज्य बनेको हो। राष्ट्र बनेको हो। सरकार बनेको हो। त्यसकारण नागरिकको जीवन रक्षामा गम्भीर छौं', उनले भने।
खाँणले जयसिंह धामी बेपत्ता भएको भन्दै अहिले नै मृतक भन्न नमिल्ने बताए। 'भेटिनुभएको छैन। प्रतिवेदन पनि आएको छैन। त्यसकारणले उहाँलाई हामीले मृतक भन्न मिलेन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।