फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई शेरबहादुर देउवा सरकारले खारेज गर्नुपर्ने बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले अहिलेको सरकारको दायित्व सम्झाएकी हुन्।
'सरकारले संविधानलाई ट्र्याकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्छ। यसको एउटा राम्रो उदाहरण हो- झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु', उनले भनिन्।
उनले सर्वोच्च अदालतको फैसला र आफूहरुको संघर्षले प्रतिनिधि सभाको पुनःस्थापना भएको भन्दै उनले सबैलाई बधाई दिइन्। 'यसले संसद्ले नयाँ सरकार दिन्छ भन्ने विकल्प र संविधानको धारा ७६ (५) को कार्यान्वयन पनि यसैपटक आएको छ', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।