काठमाडौं- दार्चुला घटना र त्यसपछि नेपाल सरकारको गतिविधिप्रति नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार प्रतिनिधि सभामा विरोध जनाउँदै सो पार्टीले सरकारले सो घटनालाई साम्य प्रयत्न गरिरहेको आरोप पनि लगाएको छ।
प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ एमाले सांसद्हरु उठेका थिए। त्यसपछि सभामुखबाट प्राप्त समयमा सांसद् गणेशसिंह ठगुन्नाले भने- 'सीमामा यसरी एउटा नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ। गृहमन्त्रालय, स्थानीय प्रशासनको विज्ञप्ति हेर्दा सरकारले यो घटनालाई संवेदनशील रुपमा लिएको देखिँदैन।'
खुलेआम एउटा निर्दोष नेपाली नागरिकको ज्यान गएको भन्दै घटना अत्यन्तै दुःखद् भएको उनले बताए। 'प्रत्यक्षदर्शीह स्वयं नदीको दुवैतर्फ भएका उनीहरुले तार फुकालेर महाकाली नदीमा बगेकोसम्म देखेको र निजका आफन्तहरुले भारतीय थानामा किटानी जाहेरी समेत दिइसकेका छन्,' उनले भने।
उनले नेपाल सरकार गृहमन्त्रालय र स्थानीय प्रशासन प्रत्यक्ष घटित घटनालाई पनि ढाकछोप गर्न र भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको भन्दै असन्तुष्टि जनाए।
घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्न आग्रह गरेका छन्। 'यो घटनाको औपचारिक रुपमा भारत समक्ष विरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।