फाइल तस्वीर
काठमाडौं– सत्ता गठबन्धनको कार्यदल बैठक आज (मंगलबार) पनि बस्दै छ। बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलका एक सदस्यले बताए।
यसअघि सोमबार विहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो।
सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो। यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ।
कार्यदलको बैठक शनिबार पनि बसेको थियो। आइतबार कार्यदलका केही नेताबीच छलफल भई मस्यौदा तयार गरिएको छ।
न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिनेछ। कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ।
मन्त्री बनाउन लागि आवश्यक मापदण्डको तय भने कार्यदलले नगर्ने भएको छ। प्रधानमन्त्री र दलका नेताहरूको क्षेत्राधिकार रहेको उल्लेख गर्दै उक्त विषयमा प्रवेश नगर्ने कार्यदलका अर्का एक सदस्यले जानकारी दिए।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले विधि मिचेर गरेका नियुक्ति उल्टाउन कार्यदलले सिफारिस गर्ने भएको छ। ‘संविधानतः प्रक्रिया पूरा गरेर भएका नियुक्ति बदर हुने कुरा हुँदैन। संविधान मिचेर वा अदालतले नियुक्त नगर भन्दाभन्दै भएका नियुक्ति खारेज गर्न कार्यदलले सुझाव दिन्छ,’ ती सदस्यले भने।
कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।