काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफू सधैं पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्।
सोमबार आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले सम्मानजनक र सुव्यवस्थित ढंगले एकता गर्न चाहेको बताएका हुन्।
‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,’ उनले भने।
छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए।
यस्तै, मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त भएको पनि नेता रघुजी पन्तको भनाइ छ।
यस्तै, पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए।
बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।