काठमाडौं– नेकपा एमालेभित्रको संकटमा सोमबार परिस्थितिले फरक मोड लिने संकेत देखापरेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सोमबार छुट्टाछुट्टै बोलाएका स्थायी कमिटी बैठकमा भएका ‘ब्रिफिङ’ र बैठकबाट भएका निर्णयले यस्तो संकेत गरेका हुन्।
ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशनकेन्द्रित हुने निर्णय गर्दै विभाग गठनहरु गरेको छ। यो निर्णयबाहेक बैठकबाट ‘माधव नेपाल पक्षलाई कारबाही’मा अघि नबढ्ने र जहाँ एकताको बिन्दु भेटिन्छ, त्यहीँबाट अघि बढ्ने तय गरिएको छ। यसअघिका बैठकको तुलनामा सोमबारको बैठकबाट भएको यस्तो निर्णय आफैमा ‘नरम’ देखिन्छ।
योभन्दा रोचक स्थिति चाहिँ नेपाल पक्षको स्थायी कमिटी बैठकमा देखिएको छ। बैठकले पार्टीको एकता प्रक्रियामा नकारात्मक असर पर्ने कुनै पनि अभिव्यक्ति नेताहरुले नदिने निर्णय गरेको छ। साथै एकता प्रयास अघि बढाउन अध्यक्ष ओलीसँग वरिष्ठ नेता नेपालले छिटै संवाद गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा बोल्नेक्रममा नेपालले आफू पार्टी एकताविरोधी नभएको र सम्मानजनक एकता चाहेको बताएका थिए। नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार बैठकमा नेपालले सम्माजनक र यथार्थपरक एकताको पक्षमा आफू रहेको भन्दै सम्भव भएसम्म पार्टी एकतालाई जोड दिएर जानुपर्ने उल्लेख गरेका थिए। ‘हामी यस बैठकमा एकता र समन्वयकै विषयमा छलफल गर्न उपस्थित भएका छौं। हाम्रो प्रयत्न एकता होस् भन्ने छ। कमरेडहरुको एकताको भावनामा मेरो पनि सहमति छ’, नेपालको भनाई उद्धृत गर्दै पन्तले भने, ‘म पार्टीमा सम्मानजनक एकताको पक्षमा छु। त्यसलाई ख्याल गरेर छलफल गर्नुस्।’
यो बैठकले सार्वजनिक अभिव्यक्ति दिँदा दुरी बढ्नेगरी अभिव्यक्ति नदिने निर्णय समेत गरेको छ। ‘सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ पन्तले भने, ‘पार्टी एकता टुंगोमा पुर्याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ।’
कस्तो हो सम्मानजनक एकता?
नेपालले एमालेमा चाहेको सम्मानजनक एकता भनेको चाहिँ कस्तो हो त? बैठकमा नेपालले आफ्नो तर्फबाट विघटित एकता कार्यदलमा रहेका सदस्यहरुलाई यसबारे प्रष्टसँग भनेका थिए। उनले त्यसमा कार्यदलका सदस्यहरुले सहमति कायम गर्न सक्ने हो भने आफू तयार रहेको समेत उल्लेख गरेका थिए।
नेपालले त्यसक्रममा पार्टीमा दुईटा अध्यक्षको प्रसंग उठाएका थिए। ‘त्यो अध्यक्ष पहिलो र दोस्रो अध्यक्ष भन्ने जस्तो अमूर्त कुरा होइन’, नेपाललाई उद्धृत गर्दै विघटित कार्यदलका एक सदस्यले भने, ‘त्यो भनेको संयुक्त अध्यक्ष हो, बैठकको अध्यक्षता आलोपालो गर्ने अध्यक्ष हो, पार्टीका निर्णयमा संयुक्त हस्ताक्षर चल्ने अध्यक्ष हो।’
नेपालले यति हुन सकेमा सम्मानजनक एकताको आधार तयार हुनेसमेत बताएका थिए। ‘विघटित कार्यदलले गरेको १० बुँदे सहमतिको मर्म अक्षरशः पालना हुन्छ र अध्यक्षका रुपमा यस्तो भूमिका सुनिश्चित हुन्छ भने म तयार छु, तपाईंहरु त्यहीअनुसार सहमति गर्नुस्’, नेपालको भनाई उद्धृत गर्दै ती सदस्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।