काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले पुरानो संसद भवन (ग्यालरी बैठक)को पुरातात्विक महत्व कायम राख्दै अधिकतम सदुपयोग गरिने बताएका छन्।
साेमबार सिंहदरबास्थित भवनको अवलोकनपश्चात् सभामुख सापकोटाले यसको पुरातात्विक महत्व कायम राख्दै संरक्षण गर्ने तयारी रहेको जानकारी दिएका हुन्।
ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण भवनको अवलोकनका क्रममा यसको प्राविधिक अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको उनले बताए।
२०७२ साल वैशाखको भुकम्पका कारण जीर्ण अवस्थामा रहेको भवन सदुपयोग गर्ने प्रक्रिया प्रारम्भ गर्न अवलोकन गरिएको जानकारी दिँदै उनले पुरै पुनर्निर्माण गर्ने वा रेक्ट्रो फिटिङ् गर्ने भन्नेबारे प्राविधिकहरुसँग सल्लाह गरेर अघि बढ्ने बताए।
भवनको महत्वलाई आत्मसाथ गरेर अधिकतम सदुपयोग गर्न छिट्टै निर्माणको काम सुरु हुने उनले जानकारी दिए।
भवनको सदुपयोगका सम्बन्धमा थुप्रै सुझाव प्राप्त भएको जानकारी दिँदै उनले यसलाई संग्रहालय र पुस्तकालयका रुपमा विकास गर्ने सल्लाह आफूलाई सबैभन्दा उपयुक्त लागेको बताए।
संसद सचिवालयले स्टोरका रुपमा प्रयोग गरिरहेको ग्यालरी बैठकमा २०१५ सालको पहिलो संसददेखि २०६२ र ६३ को अन्तरिम संसदसम्मका बैठकहरु सञ्चालन भएका थिए। राष्ट्रिय पञ्चायतको बैठक समेत हुने सो भवन २०७२ बैशाख १२ को भूकम्पपछि बन्द र अलपत्र अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।