काठमाडौं- सर्वोच्च अदालतको सोमबारको फैसलाले कर्णाली प्रदेश सभाका एमालेका चार सांसद्ले पद गुमाएका छन्। जेठ २७ को अन्तरिम आदेशमार्फत् पदमा निरन्तरता पाएका उनीहरूको पद गुमाएसँगै कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई तत्कालका लागि स्पष्ट बहुमत उपलब्ध भएको छ।
कर्णाली प्रदेशको खास आकार ४० सदस्यीय हो। तर, एमाले प्रवेश गरेका माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मी पदमुक्त भएपछि ३९ सदस्यीय रहँदै आएको थियो। सोमबार एमालेका ४ सांसद् पदमुक्त भएपछि प्रदेश सभाको आकार ३५ सदस्यीय भएको छ।
अब प्रदेश सभामा एमालेका १६ जना (सभामुखसहित), माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र राप्रपाका १ जना सदस्य छन्।
३५ सदस्यीय प्रदेश सभामा बहुमतका लागि १८ जना सांसद् भए पुग्छ। जुन गठबन्धनमा रहेका माओवादी केन्द्र र कांग्रेससँग सहजै उपलब्ध हुनेछ।
गत वैशाखमा एमालेका सांसद्हरुले पार्टी ह्विप उल्लंघन गर्दै विश्वासको प्रस्तावमा मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता सुरक्षित भएको थियो। वैशाख ३ मा भएको मतदानमा शाहीले २२ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।