काठमाडौं– नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ। दशौं महाधिवेशनको तयारीमा रहेको एमालेले सोमबार ९ वटा विभाग गठन गरेको हो।
सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहने भएका छन्। स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।
यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संगठन विभागमा १४ सदस्य रहने जनाइएको छ।
संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने संसदीय विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ।
आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ। आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ।
१५ सदस्यीय प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, १४ सदस्यीय पर्यटन प्रवर्द्धन विभागको प्रमुख भानुभक्त ढकाल, १४ सदस्यीय विदेश विभागको प्रमुख राजन भट्टराई, ६ सदस्यीय निर्वाचन विभागको प्रमुख अग्नि खरेल र १४ सदस्यीय स्थानीय तह विभागको प्रमुख देवेन्द्र दाहाललाई बनाइएको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बाँकी विभाग पछि गठन गरिने बताए। गठन गरिएका विभागमा पनि सदस्य थप्दै जाने उनको भनाइ छ।
एमालेको नियमावलीमा २५ सदस्यीय विभाग बनाउन सकिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।