काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरबारस्थित संसद भवनको निरीक्षण गरेका छन्।
भूकम्पले क्षतिग्रस्त सो संसद भवनको निरीक्षणका लागि सभामुख सापकोटा सोमबार दिउँसो सिंहदरबार पुगेका थिए। सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सम्बन्धित पक्षसँग छलफल गरी निर्माणको कामलाई तत्काल सुरु गराउने बताए।
भूकम्पले क्षति पुर्याएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले यसको सदुपयोग गर्ने उद्देश्यका साथ आफूले अवलोकन गरेको पनि स्पष्ट पारे। उनले भने, “सम्बन्धित पक्षसँग छलफल गरेर आजैबाट यसको ऐतिहासिक तथा पूरातात्विक महत्व कायम हुने निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु। त्यसका लागि प्राविधिकहरुसँग पनि बसेर यसको पुननिर्माण गर्ने कि सवलीकरण गरेर जाने भन्ने विषयमा प्राविधिकहरुसँग परामर्श गरिनेछ।”
सभामुख सापकोटाले उक्त संसद भवनलाई संग्रहालय र पुस्तकालयको रुपका विकास गर्ने आफ्नो सोच रहेको बताए। “धेरैले संग्राहलय बनाउन उपयुक्त हुने सुझाव दिएका छन्।
संग्राहलय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले मैले यसमा पुस्तकालय पनि बनाउन सकिने सोच लिएको छु” उनले भने, “सम्बन्धित पक्षसँग छलफल गरेर सो सम्बन्धमा निष्कर्षमा पुगिनेछ।” सभामुख सापकोटाले अलपत्र अवस्थामा रहेको सो भवनको निर्माणको काम तत्काल सुरु हुने गरी सम्बन्धित पक्षसँग आजैबाट छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे।
सिंहदरबारको रहेको यो संसद भवन ऐतिहासिक तथा पुरातात्विक महत्वको भवन हो। राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा विकास गरिएको थियो। पञ्चायत काल र बहुदलीय व्यवस्था र २०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठकसमेत सोही भवनमा बसेको थियो। तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दासमेत पुन:निर्माण नभई अलपत्र अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।