काठमाडौं– यातायात व्यवस्था विभागले छिट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा लिने तयारी गरेको छ। निषेधाज्ञा खुलेर अवस्था सामान्य भएको भन्दै विभागले साउन अन्तिम सातादेखि ट्रायलका लागि आवेदन खुलाउने तयारी गरेको हो।
यसअघि विभागले दसैंअघि लाइसेन्सको परीक्षा खोल्न नसकिने बताएको थियो। साउन अन्तिम साता सूचना सार्वजनिक गरी ट्रायल परीक्षा पुनः सञ्चालन गरिने विभागले जनाएको छ।
विभागले निषेधाज्ञा सुरू भएपछि गत वैशाख १६ गतेदेखि आवेदन बन्द गरेको थियो। निषेधाज्ञाअघि नै ट्रायल परीक्षाका लागि आवेदन दिएकामध्ये ४ लाखले परीक्षा दिन बाँकी रहेको विभागको तथ्यांक छ।
विभागले लिखित र ट्रायल दुवैको मोडालिटी परिवर्तन गरेर विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ अनुसार परीक्षा लिन लागेको हो।
नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५०० प्रश्न सार्वजनिक गरी सोहीबाट प्रश्न सोध्ने तयारी गरिएको छ।
यसैगरी ट्रायलमा पनि अब ७० अंक मात्रै प्राप्त गरे लाइसेन्स दिइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।