काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार केहीबेर बसेर सोमबारसम्मका लागि स्थगित भएको छ। बैठक सोमबार दिउँसो ३ बजे फेरि बस्नेछ।
बैठक सकेर एमाले अध्यक्ष केपी शर्मा ओली तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका छन्। अरु नेताहरु भने बाहिरिएका छन्।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा बसेको थियो। शनिबार पनि च्यासलमा बसेको बैठक पार्टी एकताको पहल गर्न भन्दै केहीबेर बसेर स्थगित भएको थियो।
आजको बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका थिए। हिजोको बैठकमा पनि पुगेका गाैतम एकैछिन बसेर निस्किएका थिए।
पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका अजेण्डा छन्।
एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका अजेण्डा छन्।
बैठकमा नेपालपक्ष सहभागी हुने गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।