काठमाडौं– कार्यगत एकतामा सम्मिलित २२ दलीय गठबन्धनले दार्चुलाका जयसिंह धामी (३३) घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकाे छ।
गत साउन १५ गते बिहान साढे ८ बजे दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटबाट भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा तर्दै गरेको तुइनको डोरी काटिएपछि धामी नदीमा बेपत्ता भएका हुन्।
भारतीय पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर सोही घटनामा एसएसबीको कुनै संलग्नता नभएको भन्दै इन्कार गरेकाे छ। तर स्थानीय प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुईनको डोरी काट्दा ३३ वर्षका धामी महाकाली नदीमा बेपत्ता भएको बताएका छन्।
भारतीयको यस्तो आततायी घटनामा संलग्न व्यक्तिलाई कूटनीतिक पहल गरी कानूनी दायरामा ल्याउन देउवा सरकारसँग माग गरिएको छ। यदि सरकारले दोषीमाथि कारबाही नगरेमा सडक संघर्षमा उत्रिनुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।