काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न प्रचण्ड आइतबार बिहान उनकै निवास कोटेश्वर पुगेका थिए।
दुई नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन। सरकार विस्तार र नेपाल पक्षको सहभागिताबारे छलफल भएको हुनसक्ने एक नेताले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्षभित्र सरकारमा जान हुने र नहुनेमा दुई मत छ। एमाले एकताको प्रयास भइरहेकाले तत्काल सरकारमा जान नहुने एकथरीको तर्क छ भने अर्कोथरी नेताहरूले आफूहरूकै कारण प्रतिनिधि सभा बचेको र देउवा प्रधानमन्त्री भएको भन्दै त्यसको अपनत्व लिनका लागि पनि सरकारमा जनुपर्ने तर्क छ।
नेता नेपाललाई भेटेर प्रचण्ड अहिले माओवादीको स्थायी समिति बैठकमा सहभागी भएका छन्। बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।
यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।