काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृति नै नलिइ चिकित्सकीय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा. रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा. सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको सीआईबीका डीआईजी धीरजप्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।
एनएमसीमा दर्ता नै नगरी अभ्यास गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले बताए। मेडिकल काउन्सिलले नै उजुरी गरेपछि प्रहरीले उनीलाई पक्राउ गरेको हो।
सुरुमा काउन्सिलमा एक भारतीयले स्वीकृति नै नलिइ डेन्टल क्लिनिकमा अभ्यास गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि काउन्सिसले यसबारे सीआईबीलाई जानकारी गराएको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।