काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तालाई भूलभुलैयामा नराख्न पार्टीका शीर्ष नेताहरुसँग आग्रह गरेका छन्। कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको 'महाधिवेशन सुनिश्चितता र भावी नेतृत्व' विषयक अन्तरक्रियामा बोल्दै नेता कोइरालाले उक्त आग्रह गरेका हुन्।
'सभापति र पदाधिकारीलाई मेरो विनम्र आग्रह छ, सोझा कार्यकर्तालाई भूलभुलैयामा नराख्नुस्,' उनले भने। क्रियाशील सदस्यता छानविन समितिले क्षमताले भ्याएसम्म काम गरेको र सबै विवाद अब देउवा, पौडेल र सिटौलाको हातमा आइपुगेको उनले बताए।
नेता कोइरालाले लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक कार्य गरे अरु दलले के गर्लान्? भन्दै प्रश्न उठाएका थिए। 'भदौ २३ भित्र महाधिवेशन गर्न नसके दल असंवैधानिक हुने अवस्थामा पुग्छ। सहमतिमा महाधिवेशन गरेर पदाधिकारी सङ्ख्या बढाउने कुरा पनि सुनिन्छ। एक वर्ष/ दुई वर्ष अवधि बढाउने चर्चा शीर्ष नेताको मुखबाट सुनिएको छ,' उनले भने, 'अवधि बढाएर मलाई कुनै पद दिए पनि म त्यो स्वीकार्दिनँ।'
वडाको अधिवेशन गरेर अरूको रोक्दा पार्टीमा नेतृत्व नजन्मिने उनको भनाइ थियो। वडा अधिवेशनको प्रक्रिया सुरु गरेर केन्द्रीय महाधिवेशन यति समयभित्र गर्ने भनी निर्वाचन आयोगलाई पत्र पठाउनुपर्ने नेता कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।