काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ। विघटित एकता कार्यदलका सदस्यहरुको आग्रहमा बैठक आइतबार ३ बजेसम्मका लागि स्थगित गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आज ३ बजेका लागि तय गरिएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो। बैठकको सुरुमै विघटित कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय कार्यदल सदस्यहरुले सहमतिका लागि नेता नेपाललाई मनाउने बताउँदै बैठक स्थगित गर्न आग्रह गरिएको जानकारी दिएका थिए।
उक्त आग्रहपछि बैठक एक दिनका लागि स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
यसअघि आजै विघटित कार्यदलको बैठक बसेको थियो। बैठकमा १० बुँदे सहमति कार्यान्यवनका लागि पहल गर्ने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।