काठमाडौं- विभिन्न पाँच विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
शनिबार प्रधानमन्त्री देउवालाई भेटेर उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी नदीमा वेपत्ता भएको घटनाको विरोध गर्दै तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरे।
साथै, विद्यार्थी संगठनहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूका जायज माग सम्बोधन गरी परीक्षा सञ्चालन गर्न माग गरेका छन्।
'विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन चलिरहेको छ। विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन्। उपकुलपतिको कारण परीक्षाको वातावरण विथोलिएको छ', विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनत्र पत्रमा भनिएको छ।
यस्तै, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग उनीहरूले माग गरेका छन्। प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको, पदाधिकारीहरुले दादागिरी मच्याइरहेका र पढाइ, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख छ।
नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटाैंले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।