काठमाडौं- नेकपा एमालेको विघटित विवाद समाधान कार्यदलको बैठक सकिएको छ। शनिबार विहान सिंहदरबारमा बसेको विघटित कार्यदलको बैठक सकिएको हो।
बैठक आपसी भेटघाट र छलफलको निरन्तरता भएको अध्यक्ष केपी शर्मा ओलीपक्षबाट विघटित कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले बताए। बैठकमा खास निर्णय नभएको उनको भनाइ छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट विघटित कार्यदलका सदस्य रहेका नेता गोकर्ण विष्टले पार्टी एकता प्रकृया चाँडो टुंग्याउन पहल गर्न छलफल गरिएको बताए।
'पार्टी एकता गर्न जति ढिला भयो त्यति क्षति पुग्ने साझा बुझाइ रह्यो,' बैठकपछि विष्टले भने, '१० बुँदे कार्यान्वयनमा आ-आफ्ना पक्षमा पहल गर्ने कुरा भयो।'
नेकपा एमालेले आज दिउँसो ३ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक अघि सहमति जुटाउने प्रयास स्वरुप विघटित कार्यदलको बैठक बसेको थियो, तर कुनै निर्णय भने हुन सकेन।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भीम रावलसहित ६ जना रहेका थिए। त्यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेलसहभागी थिए।
विघटित कार्यदलको बैठक अघि नेता घनश्याम भुसालले कोटेश्वर पुगेर वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए। विघटित कार्यदलमा वरिष्ठ नेता नेपालपक्षबाट रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्ड, घनश्याम भुसाल, रघुजी पन्त रहेका छन्। आजको छलफलमा भीम आचार्य पनि सहभागी थिए।
त्यस्तै अध्यक्ष ओली पक्षबाट नेम्वाङ, ज्ञवाली, पौडेल, शंकर पोखरेल, विष्णु रिमाल सदस्य रहेका थिए। कार्यदलमा यसअघि भएको दश बुँदे सहमतिको स्वामित्व ग्रहण गर्दै एमालेले कार्यदल विघटन गरेको थियो। तर पार्टीमा विवाद कायम रहँदा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकता कायम राख्ने प्रयास जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।